1हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्टहरू याद गर्नुहोस् । 2तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् । 3तिनले भने, “म मेरो घरभित्र पस्नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन, 4म आफ्ना आँखालाई सुत्न दिनेछैन न त आफ्ना पलकहरूलाई विश्राम दिनेछु, 5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।” 6हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं । 7हामी परमेश्वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं । 8हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्नुहोस् । 9तपाईंका पुजारीहरूले इमानदारीताको वस्त्र लगाऊन् । तपाईंका विश्वासयोग्य जनहरू आनन्दले कराऊन् । 10तपाईंको सेवक दाऊदको खातिर, तपाईंको अभिषिक्त राजाबाट नतर्किनुहोस् । 11परमप्रभुले दाऊदसित पक्का शपथ खानुभयो, एउटा पक्का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्नेछु । 12तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्नेछन् ।” 13निश्चय नै परमप्रभुले सियोनलाई रोज्नुभएको छ । उहाँको आफ्नो आसनको निम्ति उहाँले त्यसको इच्छा गर्नुभएको छ । 14“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्नेछु किनकि म यसलाई चाहन्छु । 15म त्यसलाई प्रशस्त मात्रमा अन्नको आशिष् दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्त पार्ने छु । 16त्यसका पुजारीहरूलाई म उद्धारको वस्त्र पहिराउनेछु । त्यसका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् । 17दाऊदको निम्ति त्यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्त जनको निम्ति एउटा बत्ती राख्नेछु । 18त्यसका शत्रुहरूलाई म लाजले ढाक्नेछु, तर त्यसको शीरमा त्यसको मुकुट चम्किनेछ ।”