1हे परमेश्‍वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्‍नुहोस्, 2किनकि दुष्‍टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् । 3तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् । 4मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु । 5भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् । 6यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्‍त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस् । 7त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् । 8त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् । 9त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् । 10त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् । 11त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून् । 12त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् । 13त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् । 14त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् । 15तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् । 16परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्‍वस्‍तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो । 17त्यसले सराप्‍न मन परायो । त्‍यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो । त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस् । 18त्यसले सरापलाई आफ्‍‍नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो । 19त्यसको सराप त्यसले आफैलाई ढाक्‍नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्‍यसैमा परोस् । 20मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् । 21हे परमप्रभु मेरो परमेश्‍वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्‍वस्‍तता असल भएको हुनाले मलाई बचाउनुहोस् । 22किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ । 23साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्‍लाइएको छ । 24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु । 25मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्‍दा, तिनीहरूले आफ्‍ना शिर हल्लाउँछन् । 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् । 27हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् । 28तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस् । 29मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्‍ना लाज लुगाझैं लगाऊन् । 30म आफ्‍नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु । 31किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्‍यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।