1परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 2इस्राएलले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” 3हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” 4बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” 5मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो । 6परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र? 7परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्टिले हे्र्नेछु । 8मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ । 9कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ । 10सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें । 11तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें । 12तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें । 13तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो । 14परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ । 15धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ । 16परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ । 17म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु । 18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन । 19मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु । 20यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्छ । 21म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ । 22निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ । 23यो परमप्रभुको काम हो । यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो । 24यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं । 25हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस् ! 26परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं । 27परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध । 28तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु । 29परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।