अलेफ 1तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् । 2तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन्, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन् । 3तिनीहरूले कुनै खराबी गर्दैनन् । तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन् । 4तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको छ, ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं । 5तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो 6तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ । 7मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु । 8म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्ता नगर्नुहोस् ।
बेथ 9जवान व्यक्तिले आफ्नो मार्ग कसरी शुद्ध राख्न सक्छ? तपाईंको वचन पालन गरेर सक्छ । 10आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् । 11तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् । 12हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 13तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्नो मुखले घोषणा गरेको छु । 14सारा धनसम्पत्तिमा भन्दा बढी म तपाईंको करारका आदेशहरूका मार्गमा आनन्दित हुन्छु । 15म तपाईंको सुझावहरूमा ध्यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्ता गर्नेछु । 16म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन ।
गिमेल 17आफ्नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्न र तपाईंको वचन पालन गर्न सकूँ । 18मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्न सकूँ । 19देशमा म विदेशी हुँ । तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस् । 20हर समय तपाईंका धार्मिक आदेशहरू जान्ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् । 21तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् । 22अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु । 23शासकहरूले मेरो षड्यन्त्र र निन्दा गरे पनि, तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्यान दिन्छ । 24तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् र तिनीहरू मेरा सल्लाहकारहरू हुन् ।
दालेथ 25मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् । 26तपाईंलाई मैले आफ्ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 27तपाईंका सुझावहरूका मार्गहरू बुझ्ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्मका शिक्षाहरूमा म ध्यान गर्न सकूँ । 28शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् । 29छलको मार्ग मबाट हटाउनुहोस् । तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस् । 30विश्वस्तताको मार्गलाई मैले चुनेको छु । तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्नो सामु राखेको छु । 31तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् । 32तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ ।
हे 33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु । 34मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्नो सारा हृदयले यो म पालन गर्नेछु । 35तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्याउनुहोस्, किनकि त्यसमा हिंड्न म खुसी हुन्छु । 36मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर, र अधार्मिक फाइदाबाट टाढा लैजानुहोस् । 37व्यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् । 38तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो । 39मलाई डर लाग्ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्छन् । 40हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् ।
वाव 41हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् । 42तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु । 43मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् । 44तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु । 45म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु । 46तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्नेछु र म लाज मान्नेछैन । 47तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु । 48तपाईंका आज्ञाहरूतिर म आफ्ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्यान गर्नेछु ।
जाइन् 49तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ । 50यो मेरो संकष्टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ । 51घमण्डीहरूले मेरो खिसी गरेका छन्, तापनि म तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन । 52हे परमप्रभु, प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु, र म आफैंलाई सान्त्वना दिन्छु । 53तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको छ । 54म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् । 55हे परमप्रभु, म रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु र म तपाईंको व्यवस्था पालन गर्छु । 56यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु ।
हेथ 57परमप्रभु मेरो भाग हुनुहुन्छ । तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु । 58तपाईंको कृपाको निम्ति म दिलोज्यानले बिन्ती गर्छु । तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस् । 59मैले आफ्ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ । 60तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ । 61दुष्टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् । मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन । 62तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन म मध्यरातमा उठ्छु । 63तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ । 64हे परमप्रभु, पृथ्वी तपाईंको करारको विश्वस्तताले भरिपूर्ण छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।
टेथ 65हे परमप्रभु, तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको छ । 66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु । 67संकष्टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु । 68तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 69अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु । 70तिनीहरूका हृदय कठोर भएका छन्, तर म तपाईंको व्यवस्थामा खुसी हुन्छु 71मैले सतावट भोगेको मेरो निम्ति असल हुन्छ, ताकि म तपाईंका विधिहरू सिक्न सक्छु । 72तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् ।
योध 73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ । 74तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु । 75हे परमप्रभु, तपाईंका आदेशहरू निष्पक्ष छन् र विश्वस्ततामा तपाईंले मलाई कष्ट दिनुभयो भनी म जान्दछु । 76आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्वस्तताले मलाई सान्त्वना देओस् । 77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो । 78घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्यान गर्नेछु । 79तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून्, जसले तपाईंका करारका आदेशहरू जान्दछन् । 80तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ ।
काफ 81तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु । 82तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ ? 83किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्न । 84तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ? 85तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन् । 86तपाईंका सबै आज्ञा विश्वासनीय छन् । ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् । मलाई सहायता गर्नुहोस् । 87तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्, तर तपाईंका सुझावहरूलाई म इन्कार गर्दिनँ । 88तपाईंको अटल प्रमले मलाई जीवित राख्नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ ।
लामेध 89हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् । 90तपाईंको विश्वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ । 91तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्नुभएझैं आजको दिनसम्म सबै थोक निरन्तर रहन्छ, किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन् । 92तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्नो कष्टमा नाश भएको हुन्थें । 93तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ । 94म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु । 95दुष्टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्न खोज्नेछु । 96सबै थोकका सिमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्म फराकिला छन् ।
मेम 97ओहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्छु! यो नै मेरो दिनभरिको ध्यान हो । 98तपाईंका आज्ञाहरूले मलाई आफ्ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन्, किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन् । 99मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्यान गर्छु । 100मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो । 101हरेक खराब मार्गबाट मैले आफ्ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ । 102तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ । 103तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्! 104तपाईंका सुझावहरूद्वारा म विवेक पाउँछु, यसकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु ।
नुन 105तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो । 106मैले शपथ खाएको छु र पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु 107म धेरै कष्टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ । 108हे परमप्रभु, मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् र मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस् । 109मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्न । 110दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन । 111तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् । 112सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ ।
समेख 113दोहोरो मन भएकाहरूलाई म घृणा गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु । 114तपाईं मेरो लुक्ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु । 115हे दुष्ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्नो परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ । 116मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्जित हुनु नपरोस् । 117मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्यान गर्नेछु । 118तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्वासनीय छन् । 119तपाईंले दुष्टहरूलाई फोहोरझैं हटाउनुहुनेछ । यसकारण म तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु । 120तपाईंको भयले मेरो शरीर थरथर हुन्छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्छ ।
ऐयिन 121जे निष्पक्ष र ठिक छ सो म गर्छु । मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस् । 122तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् । 123तपाईंको उद्धारको निम्ति र तपाईंको धार्मिक वचनको निम्ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्छन् । 124तपाईंको सेवकलाई आफ्नो करारको विश्वस्तता देखाउनुहोस् र तपाईंका विधिहरू मलाई सिकाउनुहोस् । 125म तपाईंको सेवक हुँ । मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू म जान्न सकूँ । 126यो परमप्रभुले काम गर्ने समय हो, किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् । 127साँच्चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु । 128यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु ।
पेका 129तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु । 130तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ । यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ । 131म आफ्नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु । 132तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस् । 133तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्य गर्न नदिनुहोस् । 134मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ । 135तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् र मलाई तपाईंका विधिहरू सिकाउनुहोस् । 136मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् ।
साधे 137हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्पक्ष छन् । 138तपाईंले आफ्नो करारका आदेशहरू धार्मिक रूपमा र विश्वस्ततासाथ दिनुभएको छ । 139रिसले मलाई नष्ट पारेको छ किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन् । 140तपाईंका वचनलाई धेरै जाँचिएका छ र तपाईंको सेवकले यसलाई प्रेम गर्छ । 141म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्न । 142तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ र तपाईंको व्यवस्था भरपर्दो छ । 143संकष्ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् । 144तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ ।
कोफ 145मैले आफ्नो सम्पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु । 146म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।” 147बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु । 148रातका पहरहरू बद्लिनुअगि नै मेरा आँखाहरू खुला हुन्छन् ताकि म तपाईंको वचनमा ध्यान गर्न सकूँ । 149तपाईंको करारको विश्वस्ततामा मेरो सोर सुन्नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ । 150मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् । 151हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा भरपर्दा छन् । 152धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्थापित गर्नुभएको थियो ।
रेश 153मेरो कष्टलाई हेर्नुहोस् र मलाई सहायता गर्नुहोस्, किन म तपाईंको व्यवस्था बिर्सिन्न । 154मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्नुहोस् । 155उद्धारचाहिं दुष्टहरूदेखि धेरै टाढा हुन्छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् । 156हे परमप्रभु, तपाईंका कृपापूर्ण कामहरू महान् छन् । तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्नुहोस् । 157मलाई सताउनेहरू र मेरा वैरीहरू धेरै जान छन्, तापनि म तपाईंका करारका देशहरूबाट तर्केको छैन । 158धोकेबाजलाई म घृणाको दृष्टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन् । 159हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्वस्तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्नुहोस् । 160तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् ।
शीन 161शासकहरूले मलाई विनाकारण सताउँछन्, तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर छ । 162कसैले धेरै लूटको माल पाएझैं म तपाईंको वचनमा आनन्दित हुन्छु । 163झुटलाई म घृणा र तिरस्कार गर्छु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्छु । 164तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्ट म तपाईंको प्रशंसा गर्छु । 165तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ । तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन । 166हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु । 167म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु । 168तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ ।
ताव 169हे परमप्रभु, सहायताको निम्ति मेरो पुकारा सुन्नुहोस् । तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस् । 170मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् । 171मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्ना विधिहरू सिकाउनुहुन्छ । 172मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस्, किनकि तपाईंका सबै आज्ञा ठिक छन् । 173तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु । 174हे परमप्रभु, म तपाईंको उद्धारको इच्छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो । 175म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् । 176हराएको भेडाझैं म बरालिएको छु । आफ्नो सेवकलाई खोज्नुहोस् । किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन ।