1अब्राहामले अर्की एउटी पत्नी विवाह गरे । 2तिनको नाउँ कतूरा थियो । तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन् । 3योक्षान शेबा र ददानका पिता भए । अश्शूरी, लतूशी र लऊम्मीहरू ददानका सन्तान थिए । 4मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए । यी सबै कतूराका सन्तान थिए । 5अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए । 6तर आफू जीवित छँदै तिनका उपपत्नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्ना छोरा इसहाकबाट छुट्याएर तिनीहरूलाई पूर्व देशतिर पठाए । 7अब्राहाम जम्मा एक सय पचहत्तर वर्षसम्म बाँचे । 8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए । 9तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्पेलाको ओडारमा गाडे । 10त्यो खेत अब्राहामले हेतका छोराहरूबाट किनेका थिए । अब्राहाम आफ्नी पत्नी सारासित त्यहीँ नै गाडिए । 11अब्राहामको मृत्युपछि परमेश्वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे । 12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्मेको अब्राहामको छोरो इश्माएलका सन्तान यिनै थिए । 13जन्म क्रमको सूचीअनुसार इश्माएलका छोराहरूका नाउँ यी नै थिएः इश्माएलको जेठो छोरो नबायोत, केदार, अदबेल, 14मिब्साम, मिश्मा, दुमा, मस्सा, 15हदद, तेमा, यतूर, नापीश र केदमा । 16इश्माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए । 17इश्माएलको जम्मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्यु भयो र तिनी आफ्ना पिता-पुर्खाहरूसँगै मिल्न गए । 18तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्शूर देशतिर पर्ने हवीलादेखि शूरसम्म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे । 19अब्राहामका छोरा इसहाकको वृत्तान्त यही हो । अब्राहाम इसहाकका पिता भए । 20पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए । 21तिनी बाँझी भएकी हुनाले इसहाकले आफ्नी पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे । परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन् । 22तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन् । 23परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो कोखमा दुई जाति छन्, तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन् । एक जाति अर्कोभन्दा बलवान् हुनेछ, र जेठाले कान्छाको सेवा गर्नेछ ।” 24तिनको सुत्केरी हुने बेला आउँदा तिनको कोखमा जुम्ल्याहा थिए । 25जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्तै रातो वर्णको जन्म्यो । तिनीहरूले त्यसको नाउँ एसाव राखे । 26त्यसपछि त्यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्चा समातिरहेको थियो । त्यसको नाउँ याकूब राखियो । इसाहककी पत्नीले तिनीहरूलाई जन्माउँदा तिनी साठी वर्ष पुगेका थिए । 27बालकहरू बढे, र एसावचाहिँ सिपालु सिकारी र मैदानमा डुलिहिँड्ने मानिस भए, र याकूबचाहिँ पालमा बसिरहने शान्त स्वभावका मानिस भए । 28इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे । तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन् । 29याकूबले सुरुवा पकाए । एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए । 30एसावले याकूबलाई भने, “कृपया, मलाई त्यो रातो सुरुवा खान देऊ, म थकित छु ।” यसैकारण उनलाई एदोम भनियो । 31याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस् ।” 32एसावले भने, “हेर, म त मर्नै आँटेको छु । मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” 33याकूबले भने, “पहिले मसँग शपथ खानुहोस् ।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे । 34याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्नो बाटो लागे । यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए ।