1सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌ । साराका जीवनमा वर्षहरू यी नै थिए । 2सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌ । अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे । 3त्यसपछि अब्राहाम आफ्नी पत्‍नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने, 4“म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्‌न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।” 5हेतका छोराहरूले अब्राहामलाई भने, 6“मालिक, हाम्रा कुरा सुन्‍नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌ । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान तपाईंलाई दिन इन्‍कार गर्नेछैन ।” 7तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्‍डवत्‌ गरे । 8तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्न तपाईंहरूलाई मन्‍जुर छ भने मेरो कुरो सुन्‍नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्‍ति बिन्‍ती गरिदिनुहोस् । 9उनका खेतको छेउमा भएको आफ्‍नो मक्‍पेलाको ओडार मलाई बेच्‍न भनिदिनुहोस् । उनले त्यो जमिन पुरा दाममा गाड्ने ठाउँको निम्ति सार्वजनिक रूपमा मलाई बेचून् ।” 10त्‍यस बेला एप्रोन हेतका छोराहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको प्रवेशद्वारको अगाडि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने, 11“होइन, मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । म तपाईंलाई त्‍यो खेत र त्‍यसमा भएको ओडार पनि दिन्‍छु । मेरा मानिसहरूका छोराहरूकै सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु। म तपाईंलाई लाश गाड्नको निम्ति त्यो दिन्छु ।” 12अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे । 13अनि तिनले त्‍यस ठाउँका मानिसहरूले सुन्‍ने गरी एप्रोनलाई भने, “तर यदि तपाईंको मन्‍जुरी भए मेरो कुरा सुन्‍नुहोस् । म त्‍यस जग्‍गाको मोल तिर्नेछु । मबाट पैसा लिनुहोस्, र म त्यहाँ लाश गाड्नेछु 14।” एप्रोनले अब्राहामलाई भने, 15“हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌ । जग्‍गाको मोल चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र? लाशलाई गाड्‌नुहोस्‌ ।” 16अब्राहामले एप्रोनको कुरा माने र तिनले एप्रोनलाई हेतका छोराहरूका सामुन्‍ने उनले भने जस्तै व्‍यापारीहरूमा प्रचलित तौलबमोजिम चाँदीका चार सय सिक्‍का जोखेर उनलाई दिए । 17यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले 18त्‍यस सहरका ढोकाको अगाडि आएकाहरू हेतका छोराहरू सबैका सामु अब्राहामको अधिकारमा दिए । 19त्‍यसपछि अब्राहामले आफ्‍नी पत्‍नी सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाक खेतको ओडारमा गाडे । 20यसरी त्‍यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।