1तिनीहरूले निलो, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए । 2बजलेलले सुन, निलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए । 3तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो । 4तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए । 5यसको राम्ररी बुनेको कमरपेटी एपोदजस्तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो । 6तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे । 7परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्न हुनलाई ती लगाए । 8तिनले एपोदजस्तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए । 9यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो । 10तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो । 11दोस्रो लहर फिरोजा, नीर र पन्नाको थियो । 12तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो । 13चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए । 14ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो । 15तिनीहरूले छाती-पातामा डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए । 16तिनीहरूले छाती-पाताको लागि सुनका दुईवटा मुन्द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए । 17तिनीहरूले सुनका दुईवटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए । 18तिनीहरूले बाटेका दुईवटा सिक्रीका अर्का दुईवटा छेउलाई दुवै मणिघरमा जोडे । त्यसपछि तिनीहरूले ती दुईवटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए । 19तिनीहरूले सुनका दुईवटा मुन्द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुईवटा कुनामा लगाए । 20तिनीहरूले थप दुईवटा सुनका मुन्द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए । 21तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए । 22बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो । 23यसको बिचमा टाउको छिराउने प्वाल थियो । नच्यातियोस् भन्नाका लागि यसमा कठालोको प्वालजस्तै बुनेको बिट थियो । 24तिनीहरूले तलको फेरोको चारैतिर निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए । 25तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बिच-बिचमा तिनीहरूले ती लगाए । 26तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । 27तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए । 28तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्त्रहरू, 29सुती कपडा र निलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । 30तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए । 31तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । 32यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए । 33तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू, रातो 34रङले रङ्ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्ने पर्दा, 35गवाहीको सन्दुकसाथै डन्डाहरू र प्रायश्चित्तको ढकनी ल्याए । 36तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी, 37निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल, 38सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा, 39काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठुलो बाटा र यसको खुट्टा ल्याए । 40तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए । 41तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए । 42यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे । 43मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।