1अब इस्राएलले भनोस्, “परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, 2मानिसहरू हाम्रा विरुद्धमा खडा हुँदा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए, 3तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए । 4पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो । 5तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।” 6परमप्रभुको प्रशंसा होस्, जसले हामीलाई तिनीहरूको दाँतले धुजाधुजा हुन दिनुभएको छैन । 7शिकारीको पासोबाट चरा फुत्‍केझैं हामी भएका छौं । पासो चुँडेको छ र हामी उम्केका छौं । 8परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।