1हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ । 2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् । 3म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् । 4विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ । 5हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् । 6हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्‍नेहरू लज्‍जित नहोऊन् । हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् । 7तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ । 8मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु । 9किनको तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ । 10जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे । 11जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें । 12सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्याँहाहरूका गीत भएको छु । 13तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस् । 14मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् । 15बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस् । खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस् । 16हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्‍तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् । 17आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् । 18मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् । 19मेरो हप्‍की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् । 20हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ । 21खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए । 22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् । 23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् । 24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् । 25तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् । 26किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्‍तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए । 27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् । 28तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् । 29तर म गरीब र दुःखी छु । हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस् । 30गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्‍च पार्नेछु । 31सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्‍यसले परमप्रभु खुसी पार्नेछ । 32नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् । 33किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न । 34स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् । 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् । 36उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्‍त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्‍नेछन् ।