1अझै एलीहूले निरन्तर यसो भनिरहे, 2“जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ ? 3किनकि तपाईं सोध्नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्छ ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्छ र ?’ 4म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु । 5माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ । 6तपाईंले पाप गर्नुभयो भने, परमेश्वरको के नोक्सान हुन्छ र ? तपाईंका अपराधहरूको थुप्रो लाग्यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र ? 7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्नुहुन्छ र ? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्छ र ? 8जसरी तपाईं मानिस हुनुहुन्छ, तपाईंको दुष्ट कामले मानिसलाई नै चोट पुर्याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ । 9अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्छन् । 10तर कसैले यसो भन्दैन, 'मेरा सृष्टिकर्ता परमेश्वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ, 11जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ ?' 12त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्ट मानिसहरूको अहङ्कारको कारण परमेश्वरले कुनै जवाफ दिनुहुन्न । 13परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न । 14तपाईं भन्नुहुन्छ, तपाईंले उहाँलाई देक्नुहुन्न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला ! 15अब तपाईं भन्नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्यान दिनुहुन्न । 16त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्नुहुन्छ । उहाँले ज्ञानविनाका शब्दहरूको थुप्रो लगाउनुहुन्छ ।”