1अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्यक्ति छ ? पवित्र मानिसहरूमध्ये कुनतिर तपाईं फर्कनुहुनेछ ? 2किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ । 3मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्कासि त्यसको घरलाई सराप दिएँ । 4त्यसका छोराछोरी बिल्कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन । 5भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्नो धन-सम्पत्तिको तृष्णा गर्छन् । 6किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्या उम्रन्छ । 7बरु, मानव-जाति कष्टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् । 8तर मेरो बारेमा, स्वयम् परमेश्वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्नो गुनासो समर्पित गर्छु— 9महान् अनि अगम्य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ । 10उहाँले पृथ्वीमा वृष्टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ । 11नम्रहरूलाई उच्च स्थानमा राख्नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्नलाई उहाँले यसो गर्नुहुन्छ । 12धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ । 13उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् । 14तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् । 15तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ । 16त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ । 17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर । 18किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ । 19उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन । 20अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ । 21झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्यसबाट डराउनुहुनेछैन । 22विनाश र अनिकाल देखेर तपाईं हास्नुहुनेछ, अनि पृथ्वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ । 23किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् । 24तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन । 25तपाईंले यो जान्नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् । 26तपाईं आफ्नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्नका मुट्ठाहरूको चाङ हुनेछ । 27हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”