1अब्राम, तिनकी पत्नी र तिनीसँग भएका सबै थोक लिएर मिश्रबाट माथि नेगेवतिर गए । लोत पनि तिनीसँगै गए । 2अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए । 3तिनी नेगेवबाट बेथेतिर गइरहे, जहाँ पहिले तिनको पाल थियो, त्यो बेथेल र ऐको बिचमा थियो । 4तिनी आफूले पहिले नै बनाएका वेदी भएको ठाउँमा गए । यहाँ तिनले परमप्रभुको नाउँको पुकारा गरे । 5अब्रामसँगै यात्रा गरिरहेका लोतका पनि भेडाबाख्रा र गाईवस्तुहरूका बथान र पालहरू थिए । 6तिनीहरू दुवै नजिकै रहनलाई जमिनले धान्न सकेन, किनभने तिनीहरूका सम्पत्ति अत्यधिक थियो, यसैले तिनीहरू सँगै बस्न सकेनन् । 7अब्राम र लोतका गाईवस्तुहरू र भेडाबाख्राका गोठालाहरूबिच झगडा भयो । त्यस बेला त्यहाँ कनानीहरू र परिज्जीहरू बस्दथे । 8यसैले अब्रामले लोतलाई भने, “तिम्रो र मेरा गोठालाहरूबिच झगडा नहोस्, आखिर हामी त परिवार नै हौँ । 9के सारा भूमि तिम्रो सामु नै छैन र? तिमी जाऊ र मबाट अलग होऊ । यदि तिमी बायाँतरि गयौ भने म दायाँतिर जानेछु । वा यदि तिमी दाहिनेतिर गयौ भनौ म देब्रेतिर जानेछु ।” 10यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।) 11यसैले लोतले आफ्नो निम्ति यर्दनको बेँसी चुने र पूर्वतिर लागे अनि नातेदारहरू आपसमा छुटे । 12अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे । 13सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्ट पापीहरू थिए । 14लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “तँ उभिएको ठाउँदेखि उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर् । 15तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु । 16म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्न सक्नेछ । 17उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।” 18यसैले अब्रामले आफ्नो पाल उठाए र मम्रेका फलाँटका रूखहरू नजिकै बसोबास गरे, जुन हेब्रोन थियो र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी निर्माण गरे ।