1तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें । 2परमेश्वरले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्ने र दुष्ट योजना बनाउने मानिसहरू यी नै हुन् । 3तिनीहरू भन्दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन । यो सहर भाँडो हो र हामीहरू मासु हौं ।’ 4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।” 5तब परमप्रभुका आत्मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयोः “परमप्रभु यसो भन्नुहुन्छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्ने मलाई थाहा छ । 6तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्यालाई वद्धि गरेका छौ, र यसका गल्लीहरू तिनीहरूले भरेका छौ । 7यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ । 8तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु । यो परमप्रभु परमेश्वरको घोषणा हो । 9म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु । 10तिमीहरू तरवारले ढल्नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 11यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्यसको बिचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु । 12तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।” 13जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्याह मरे । तब म घोप्टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्पूर्ण रूपले सर्वनाश गर्नुहुन्छ?” 14त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 15“ए मानिसको छोरो, तेरा दाजुभाइ! तेरा दाजुभाइ! जो तेरा कुलका र इस्राएलका सारा घराना! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन् । यो देश हामीलाई अधिकार गर्न दिइएको थियो ।’ 16यसकारण यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको पवित्रस्थान भएको छु ।’ 17यसकारण भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई म मानिसहरूबाट जम्मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु ।’ 18तब तिनीहरू त्यहाँ जानेछन् र त्यो ठाउँबाट हरेक घृणित र घिनलाग्दा कुराहरू हटाउनेछन् । 19म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्मा हालिदिनेछु । म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु, 20ताकि तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु । 21तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।” 22ती करूबहरूले आफ्ना पखेटा र आफ्ना छेउमा भएका पाङ्ग्राहरू माथि उचाले र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका माथि थियो । 23तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो । 24आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो । 25तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।